Get it on Google Play
Download on the App Store

प्रचण्डजी आखिर के रहेछ जिन्दगी (UNK)


Bijay Mehta
gautampur@online.com प्रचण्डजी, आखिर के रहेछ र जिन्दगी ! कसलाई थाहा छ, जीवनको ज्योति कतिबेला निभ्छ ! हेर्दाहेर्दै एउटा प्रकाश निभेको छ । सत्य त्यही हो, निभेको प्रकाशमा अब जीवनको उज्यालो भेटिँदैन । अस्वीकार्य छ सत्य तर स्वीकार्न बाध्य छ मानिस । प्रचण्डजी, आखिर के रहेछ र जिन्दगी ! म प्रकाशको मृत्युलाई असामयिक भन्दिनँ किनभने मृत्यु कहिल्यै सामयिक हुँदैन । जुन असामयिक हुन्छ, त्यो भयानक हुन्छ । मृत्यु भयानक छ तर इमान्दार छ । मानिसको इमान्दार मित्र कोही छ भने त्यो मृत्यु हो । मृत्युले कहिल्यै धोका दिँदैन । जन्मेदेखि सँगै बस्ने र जाँदा सँगै लिएर जाने कोही छ भने त्यो मृत्यु हो । मृत्युको आफ्नै लय हुन्छ । जीवनको लयभन्दा फरक छ, मृत्युको लय । त्यसैले मृत्यु हाम्रा लागि सधैं अस्वीकार्य छ । जे अस्वीकार्य हुन्छ, त्यो दुःखदायी हुन्छ । मृत्यु सधैं दुःखदायी छ । तर, त्यो दुःखको कारण मृत्यु होइन, प्रेम हो, अपनत्व हो, वात्सल्य हो । छोराछोरीप्रति आमाबाबुको प्रेम । श्रीमान्प्रति श्रीमतीको प्रेम । प्रचण्डजी ! मानिसमा प्रेम नहुँदो हो त दुःख पनि नहुँदो हो । प्रेम नहुँदो हो त मृत्युले मानिसलाई छुँदा पनि नछुँदो हो । भोग्नेलाई थाहा हुन्छ– प्रेमले जन्माएको दुर्दान्त दुःख, वीभत्स पीडा र आक्रान्त आघात ! प्रचण्डजी ! टाढैबाट होस्, मैले पनि देखेँ, एउटा जवान छोरालाई दागबत्ती दिन बाध्य हुँदाको बूढो बाबु । त्यो बाबुभित्रको अथाह पीडा । त्यो पीडाले उछालेको पानी । त्यो पानीले नाघेको ती आँखाका डिल । ती डिल नाधेर बगेका प्रगाढ प्रेमका ती ढिक्का । थाम्न खोज्नुहुन्थ्यो तपाईं, पीडा झन् उर्लेर आउँथ्यो । रोक्न खोज्नुहुन्थ्यो तपाईं, पीडाले बाँध फुटाउँथ्यो । तर, रोक्नुभो, किन बाध्य हुन भो ? स्वच्छन्द रुन पनि पाउनुभएन, तपाईं । हिजो प्रचण्डका कारणले जो रोएका थिए, ती पनि आज रोए । प्रचण्ड दुःखमा होइन, छोराको निधनमा रोए । निभेको प्रकाश देखेर रोए । तर, प्रचण्ड स्वयं रुन सकेनन् । आफूभित्रको वात्सल्य र प्रेमलाई पीडाको डल्लो बनाएर आफैंभित्र दबाउन पनि बाध्य हुँदो रहेछ मान्छे । प्रचण्डजी ! आखिर के रहेछ र जिन्दगी– रुने स्वतन्त्रता पनि गुमाउनु पर्ने ? मान्छे रुन सक्नुपर्छ, मान्छे रुनुपर्छ र मान्छेले आँशु बगाउनुपर्छ । रुनु दुःखको भाषा हो । आँशु पीडाको लिपि हो । दुःखको त्यो भाषा मान्छेले नै बोल्नुपर्छ । पीडाको त्यो लिपि मान्छेले नै लेख्नुपर्छ । बोल्न र लेख्न नसक्नुको पीडा मान्छेलाई झन् खपिनसक्नु हुन्छ । कसरी खप्नुभएको होला प्रचण्डजी ? कसरी खपे होलान् ती आमाबाबु, जसले जनयुद्धमा हजारौं जवान प्रकाशहरू गुमाए ! प्रचण्डजी ! रुने अवस्था आउनु राम्रो होइन तर रुनु राम्रो हो । पीडाले रुवाउँछ । त्यही रोदनको आँशुले पीडा पखाल्छ । रुनुको विडम्बना, तपाईं रुन पनि पाउनुभएन । आखिर दुःखमा रुन नपाउने जिन्दगी पनि के जिन्दगी, प्रचण्डजी ? प्रिय प्रचण्डजी ! मेरो अनुरोध, जवान छोरा प्रकाशलाई हेर्ने आँखाले अब देशका त्यस्तै तमाम जवान छोराछोरीहरुलाई हेर्नुहोला, जसले देशको राजनीतिक दाउपेचमा निश्चिततालाई गुमाइसकेका छन् । अनिश्चितता त सधैं अनिश्चित नै छ । देशका कतिधेरै जवान प्रकाशहरु आज अनिश्चितताको शिकार भएका छन् । कारण के हो ? एकपटक खोज्नुहोला । अनुहारमा गाडिएका आँखा होइन, मनका आँखा खोलेर हेर्नुभयो भने पक्कै देख्नुहुन्छ, त्यो अनिश्चितता । र, त्यो अनिश्चिततामा हराएका लाखौं जवान प्रकाशका अँध्यारा अनुहारहरू । हामीभन्दा तपाईंलाई थाहा छ अहिले राजनीतिभित्र राजनीतिबाहेक सबथोक छ । सबैभन्दा बढी कपट छ । जाल छ । झेल छ । बेइमानी छ । दुराचार छ । भ्रष्टाचार छ । व्यभिचार छ । आखिर मान्छेभित्र भएको प्रेम, वात्सल्य, पीडा र दुःखले पनि त्यही कपटी राजनीतिको नियति भोग्नुपर्छ भने किन नत्याग्ने त्यो दुषित राजनीति ? जहाँ न खुसीमा हाँस्न सकिन्छ, न दुःखमा रुन पाइन्छ । हो, प्रचण्डजी किन नत्याग्ने त्यो राजनीति ? त्यागिदिनुस् प्रचण्डजी अब त्यो गन्धे राजनीति, त्यो भ्रष्ट र कपटी राजनीति । जुन राजनीति जनताका लागि होइन– गुन्डा, माफिया, दलाल, विलौचिया र विदेशी एजेन्टहरूका लागि भएको छ । आजै त्यागिदिनुस् त्यो फोहोर राजनीति, जो तिनै माफिया र भ्रष्टको कुलदेउता बन्छ, उही देशको सबैभन्दा ठूलो नेता कहलिन्छ । प्रचण्डजी ! यहाँ केपी ओलीजीलाई जोड्न चाहन्छु र एउटा प्रश्न सोध्न चाहन्छु– लज्जा के हो, ओलीजी ? कसले बनायो यो स्थिति ? ओलीजी, घोटेर पियाउने दबाई होइन, आफैंले बोध गर्ने ज्ञान हो, लज्जा । चौरस्तामा उभिएर ‘खुजुलीका दबा’ बेच्ने विदूषकपात्र जस्तो नेता देख्दा म आफैंलाई लज्जाबोध हुन्छ । हो, ओलीजी साह्रै लज्जाबोध हुन्छ । प्रचण्डजी ! आजै त्यागिदिनुस् माफियावादी दुष्ट राजनीति र आजै सुरु गर्नुस् एउटा निर्मल र पवित्र मनले गर्ने स्वच्छ राजनीति । देश र जनताका लागि गरिने राजनीति । शेरबहादुरजीको ‘निरीह’ राजनीतिभन्दा माथिको राजनीति । केपी ओलीजीको घटिया ‘गाईजात्रे’ राजनीतिभन्दा धेरै माथिको राजनीति । एउटा राजनेताले गर्ने राजनीति । अब राजनीति आफ्ना र आफन्तका लागि होइन, देश र जनताका लागि गर्नुस् । देशलाई मानिस बसेको देश बनाऊँ । देशलाई मानिसले शासन गरेको देश बनाऊँ । प्रचण्डजी ! अब कसैको पुच्छर होइन, टाउको पनि नबन्नुस् । आफ्नै टाउको, आफ्नै शरीर र आफ्नै पुच्छर लिएर हिँड्नुस् । आफैं हल्लाउनुस् आफ्नो टाउको, आफ्नो शरीर र आफ्नो पुच्छर । अब कसैको नेता होइन, सबैको नेता बन्नुस्, जसलाई राजनेता भनिन्छ । जसले आत्मनिर्णयको राजनीति गर्छ, उही राजनेता कहलिन्छ । राजनेता बन्न कुनै जोगी र ज्योतिषीसामु निधार जोत्नु पर्दैन । ती भविष्यद्रष्टा हुन्थे त दोबाटोमा बसेर ग्राहक किन खोज्थे ? प्रचण्डजी ! कर्मले हो मानिसलाई बनाउने । गुणले मानिसलाई बचाउने । माक्र्स र लेनिनका फोटा मिल्काएर माक्र्सवादी–लेनिनवादी बन्ने देशमा हुनुहुन्छ तपाईं । कर्म र गुणले आफूलाई बनाउन र बचाउन सकिएन भने त्योभन्दा निर्मम तरिकाले भोलि प्रचण्डहरु फ्याँकिन्छ । शासनको गद्दीमा होइन, जनताको मनको गद्दीमा शासन गर्न सक्ने शासकमात्र सधैं बाँच्छ । जिम्बाब्बेका रोबर्ट मुगावे ९३ वर्षको उमेरमा बन्दी भएका छन् । ४० वर्ष शासनको गद्दीमा बसे तर जनताको मनको गद्दीमा बस्न सकेनन् । आखिरी जिन्दगी के नै रहेछ र ? अब जनताको राजनीति गरौं । उठ्नुस् । माथि उठ्नुस् । सोचेभन्दा धेरै माथि उठ्नुस्, प्रचण्डजी । हिजो बाँडेका सपनाहरू खोज्नुस् । तपाईंका बोलीलाई मातापिता सम्झेर होमिने ती जवान प्रकाशहरूका आँखामा अझै नाचिरहेका छन् ती सपना । सँगाल्नुस् ती सपना । सुरु गर्नुस् निष्ठा, इमान र धर्मको राजनीति । एउटा तुच्छ मान्छेले होइन, राजनेताले गर्ने राजनीति । देशको अभिभावक बन्ने राजनीति । प्रचण्डजी ! जनयुद्धको लेखाजोखा धेरै भइसकेको छ । पछि पनि होला । भनिन्छ, तपाईं युद्धनायक हुनुभो, अब बुद्धनायक हुनुहोस् । देशलाई बुद्ध चाहिएको छ । बुद्ध भनेको वन प्रस्थान होइन । सन्यास र गेरुधारण पनि होइन । बुद्ध भनेको शान्ति र अहिंसा हो । बुद्ध भनेको सत्य र निष्ठा हो । बुद्ध भनेको चेतना र जागरण हो । अब मारिदिनुस् आफूभित्रको प्रचण्ड । जन्माउनुस् बुद्धरूपी पुष्पकमल । हुर्काउनुस्, बढाउनुस् त्यो पुष्पकमललाई । समयले अहिले तपाईंलाई समय दिएको छ । कुनैबेला समयले तपाईंलाई पछाडि लगायो होला तर अहिले त्यही समय तपाईंको पछाडि लाग्दैछ । अब कसैको नेता बन्नु हुँदैन त्यो पुष्पकमल । सबैको नेता बन्नुपर्छ, त्यही पुष्पकमल । हो प्रचण्डजी ! नेता धेरै छन् तर देश नेतृत्वविहीन भएको छ । आखिर असम्भव नै के छ र ! पूर्वीय मिथकको प्रेरकपात्र छ– डाँकु रत्नाकर, जसले रत्नाकरलाई मारेर आफैंभित्रबाट वाल्मिकी जन्माउँछ । इतिहास साक्षी छ, सिद्धार्थले बुद्ध जन्माउँछ । बुद्ध र वाल्मिकी जुगजुग बाँच्छन् । रत्नाकरले जस्तै प्रचण्डले प्रचण्डलाई कैवल्यप्राप्तिको मार्ग देखाउन सक्छ । रत्नाकरले जस्तै प्रचण्डले प्रचण्डभित्रबाट पुष्पकमल जन्माउन सक्छ । बुद्ध र वाल्मिकीजस्तै एक अद्वेत पुष्पकमल, जसले भोलि एउटा युग जन्माउन सक्छ । त्यो युग, जुन युगमा फुलेको फूलको बासना बोकेर उड्न हावा पनि सधैं बाध्य हुन्छ । प्रचण्डजी, एउटा कुरा जोडौं है । आखिर डा. गोविन्द केसी कसका लागि निराहार लडिरहनुभएको छ ? कि प्रचण्डले भन्न सक्नुपर्छ, उनको अभिषेक आन्दोलन देश र जनताको हितविपरीत छ । कि पुष्पकमलले त्यो आन्दोलनलाई आत्मसात गरेर तीन करोड नेपालीको भविष्य रक्षा गर्नुपर्छ । तपाईंसामु दुबै छन्, प्रचण्ड र पुष्पकमल । डा. केसीजस्ता जिउँदा देवताको आन्दोलनलाई सार्थक बनाउने एक महारथी बन्नुस्, प्रचण्डजी । जो बन्छ, त्यो मत्युपर्यन्त जनताको आशीर्वाद लिएर बाँच्छ । जनजनमा बाँच्छ, जुगजुग बाँच्छ । एक जुगमा एक डा. केसी जन्मिन्छन् । हामी जनता मनमनै सधैं एउटा कामना गरिरहन्छौं, डा. केसीहरू जन्मिरहून् । हामी त्यही मनले अर्को कामना पनि गरिरहेका छौं, यस्ता अहिलेका जस्ता दुष्ट नेता कहिल्यै नजन्मिऊन् । समयले हामीलाई कठोर मोडमा उभ्याएको छ । त्यागिदिनुस् प्रचण्डजी, मेडिकल कलेज नाउँका ती जनतामारा कसाइखाना । त्यागिदिनुस् ती दुष्ट, जो डा. केसीजस्ता देउतालाई मार्न चाहन्छन् । छोडिदिनुस् तिनलाई, जो कम्युनिस्टको खोलमा माफियातन्त्र चलाउन चाहन्छन् । प्रचण्डजी ! ती परमपरोपकारी डा. केसीमाथि खनिने केपी ओलीजीमा मैले राक्षसको प्रतिरूप देख्न थालेको छु । तपाईं अझै मान्छको रूपमा देख्दै हुनुहुन्छ ? तोडिदिनुस्, छुचुन्द्रो र बिरालोको जस्तो त्यो असंगत जोडी । मान्छे होइन, बाँच्ने कर्म हो । गुण हो, गुणवत्ता हो । तपाईंको भित्री मनले पनि भन्छ– डा.केसीको आन्दोलनले सार्थकता पायो भने देशमा निष्ठा, विधि–विधान र थिति–नीतिको नयाँ युगको प्रारम्भ हुन्छ । त्यो युगले स्व. प्रकाश दाहालजस्ता धेरै जिउँदा जवान प्रकाशहरूको जीवनमा पक्कै निश्चितता ल्याउँछ । प्रचण्डजी ! वेदमा एक महावाक्य छ रे, नेति नेति । यो पनि होइन, त्यो पनि होइन । आखिर जीवन त्यही हो, अन्तमा जो केही होइन । पत्रैपत्रले बाँधिएको बन्दाकोबी जस्तो गडड्याम लाइफ ! वेदमै अर्को महावाक्य छ रे, तत्वमसि ! ओशो भन्छन्– अस्तित्व, परमात्मा र तिमी मिलेर बनेको छ, तत्वमसि । अर्थात, त्यो तिमी हौ । प्रचण्डीजी ! यी सबैकुरा नजिकभन्दा पनि नजिक छन्, जुन तपाईंभित्रै छन् । जन्माउनुस् बुद्धरूपी तत्वमसि । त्यो तपाईं हो । अन्त्यमा, सादर समवेदना प्रचण्डजी, तपाईं र परिपारप्रति !
READ ON NEW WEBSITE

Chapters